मिति: २०८३ साल असार २३ गते
जिल्ला समन्वय समिति, लमजुङका प्रमुख श्री पूर्ण बहादुर गुरुङज्यूको अध्यक्षतामा स्थानीय सरकार
सञ्चालन ऐन, २०७४ को दफा ९६ को उपदफा २ बमोजिम
लमजुङ जिल्लाको नवौँ जिल्ला सभा, २०८३ को बैठक आज मिति २०८३ साल असार २३
गते मंगलबारका दिन जिल्ला समन्वय समिति, लमजुङको सेमिनारहलमा भव्यताका साथ सम्पन्न
भएको छ।
उक्त गरिमामय सभामा जिल्ला समन्वय समितिका उप-प्रमुख
श्री बुना कुमारी रिमालज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला समन्वय
अधिकारी श्री महेश सुवेदीज्यूले सचिवको भूमिका निर्वाह गर्नुभएको थियो। बैठकमा
जिल्ला समन्वय समिति, लमजुङको आ.व. २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन एवम् आगामी आ.व.को
कार्यक्रमगत तथा नीतिगत प्राथमिकताहरू जिल्ला समन्वय समिति प्रमुखज्यूले प्रस्तुत
गर्नुभएको थियो। सभामा जिल्ला सभाका सदस्य रहनुभएका जिल्लाका विभिन्न नगरपालिकाका
प्रमुख/उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षहरू लगायत जिल्ला समन्वय
समितिका सदस्य तथा कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ को मुख्य कार्य प्रगति, शून्य
बेरुजुसहितको रु १ करोड ५१ लाखभन्दा बढीको खर्च विवरण र आगामी आर्थिक वर्षको
नीतिगत प्राथमिकता सर्वसम्मत रूपमा अनुमोदन गरियो। यसैगरी, विकास
निर्माणका योजनाहरूलाई थप व्यवस्थित र नतिजामुखी बनाउन आवश्यक संशोधन सहित
"जिल्ला समन्वय समितिबाट गरिने अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि, २०८३"
पारित गरिनुका साथै बेसीसहर नगरपालिकाले प्रशासकीय भवनका लागि माग गरेको जग्गाको
अध्ययन गर्न उप-प्रमुखको संयोजकत्वमा ५ सदस्यीय विशेष समिति गठन गर्ने र नदीजन्य
पदार्थको दोहन नियन्त्रण एवं स्थानीय शासन कार्यसम्पादन मूल्यांकन (LGPAS) जस्ता
समसामयिक विषयहरूमा गहन छलफल गरी महत्वपूर्ण निर्णयहरू गरिए।